काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई जबरजस्ति कारागारबाट बाहिर निकालिएको दाबी गरेका छन्। उनले आफूलाई कस्टडीमै राख्न सुरक्षा निकायलाई आग्रह गरेको तर अस्वीकार भएको बताएका छन्।
फेसबुक लाइभमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले भने, “म आफैं चाहेर निस्किएको होइन, सुरक्षा दिन नसक्ने भन्दै जबरजस्ति बाहिर निकालिएको हो। मलाई दिइएको पत्र जस्ताको तस्तै सार्वजनिक गरेको छु।”
लामिछानेका अनुसार उनले आजै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग सम्पर्क गरेर पुनः कस्टडीमा राख्न आग्रह गरेका थिए। तर, सुरक्षाकर्मीहरूले “आफैं सुरक्षित बस्नुस, आवश्यक परे सम्पर्क गर्छौं” भनेर जवाफ दिएको उनले बताए।
उनले न्यायिक निकायलाई पनि यसबारे औपचारिक जानकारी गराएको बताए। सरकार निर्माण वा सरकारमा सहभागी हुने दौडमा आफू नरहेको स्पष्ट पार्दै उनले भने, “मेरो नाममा विवाद गर्नु आवश्यक छैन, मलाई बदनाम गर्न खोज्नुपर्दैन। म अझै झुटा मुद्दा खेपिरहेको छु।”
सुरक्षाको प्रश्न उठाउँदै उनले थपे, “प्रहरीले बाटोमा जा भन्छ, तर बाटोमा आगो बोकेर बसेका भिड छन्। अब भन्नुस, मैले बाँच्न पाउने कि नपाउने ? कांग्रेसदेखि एमाले र जेन–जीसम्म आउँदा पनि ममाथिको अन्याय नरोकिने हो ?”










