images
images
images

होटलमा आगजनी भएपछि कोमल भन्छिन्,”मेरो पसिना, आँसु र सपना खरानी बनाइयो”

दाङ- पूर्वसांसद तथा कलाकार कोमल ओलीले आफ्नो होटलमा भएको आगजनीप्रति पीडा व्यक्त गरेकी छिन्।

उनले यो घटनालाई “नियतवश, योजनावद्ध अपराध” भन्दै सामाजिक सञ्जालमार्फत आक्रोशसमेत पोखेकी छन्।

ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्यमा भनिन्, “हामी बामे सर्दै थियौं तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो।”

उनले जेनजीको आन्दोलनमा सहानुभूति जनाउँदै पनि त्यसको आवरणमा आफ्ना घर र होटल जलाइएको घटनालाई अपराध करार गर्दै प्रश्न उठाइन्, “के मेरो घर ध्वस्त पार्नु, होटलमा आगो लगाउनु र ४० जना स्थानीयको रोजगारी खोस्नु नै जेन–जीको क्रान्ति हो?”

उनले घटनामा शाहदत प्राप्त गर्ने युवाप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै निर्दोष नानीबाबु ज्यान गुमाउँदा आफ्नो “छाती चिरेको” पीडा पनि सुनाइन्।

ओलीले आफ्नो जीवनयात्रा, ईमान र निष्ठामाथि कहिल्यै प्रश्न उठ्न नसक्ने दाबी गर्दै भनिन्, “यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु।”

२०६१ सालतिर माओवादीले आफ्नै घर लुटेको र जलाएको पीडा सम्झँदै उनले यस घटनालाई त्यसको पुनरावृत्ति भनेकी छन्। ओलीले भनिन्, “यो नियतवश, योजनावद्ध, भीडमा पसेर गरिएको अपराध हो।”

उनले अन्त्यमा चेतावनी दिइन्, “यो देश बाँकी रहने छ, कानुनी शासन चल्ने छ र तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ। मेरो सपना खरानी बनाउन सकिन्छ तर मेरो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन सकिँदैन।”