काठमाडौँ, २६ भदौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उपचार भएको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा मृत्यु र घाइते भएकाको विवरण विभिन्न अस्पतालमा सम्पर्क गरी सार्वजनिक गरेको जनाएको छ।
त्यसैगरी अहिले ३२१ जना घाइतेको भर्ना भई उपचार भइरहेको छ। सचिव डा विकास देवकोटाका अनुसार अहिले पनि निजामती कर्मचारी अस्पतालमा ४८, ट्रमा सेन्टरमा ५८, त्रिवि शिक्षण अस्पतालमा २५ र काठमाडौँ मेडिकल कलेजमा ३५ र वीरेन्द्र सैनिक अस्पतालमा २६ जनाको उपचार भइरहेको छ। उनका अनुसार ९४९ जना उपचारपश्चात् घर फर्किसकेका छन्।









