काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले जेनजीबीचको सर्वपक्षीय सहमतिमा प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेदवारमा समर्थन रहने बताएको छ। ती उम्मेदवारले वृहत् राजनीतिक अनुमोदन प्राप्त गर्ने शुभेच्छा पनि रास्वपाले राखेको छ। उसले संविधानकै मर्मअनुसार अगाडि बढ्न पनि सुझाव दिएको छ।
राप्रपाका कार्यबाहक सभापति डोरप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ८३ अन्तर्गत संघीय व्यवस्थापिका दुई सदनात्मक हुने तथ्यको स्मरण गर्दै रास्वपाले राष्ट्रिय सभाको कायम राखी अन्तरिम सरकारले प्रतिनिधिसभाको निर्वाचन ६ महिनाभित्र गर्ने गरी ताजा मतादेशमा जान पनि सुझाव दिएको छ।
रास्वपाले जेनजी आन्दोलन र २०४६ सालपछिका भ्रष्टाचारबारे बेग्लाबेग्लै उच्चस्तरीय आयोग नयाँ सरकार बनेको १५ दिनभित्र गठन गर्न पनि सुझाव दिएको छ।
राष्ट्रपतिको प्रत्यक्ष पहल र संवादका आधारमा आसन्न संक्रमणकालीन राजनीतिक कोर्सलाई संरक्षकत्व दिइने अपेक्षा पनि रास्वपाले राखेको छ।
संविधानको व्यापक संशोधन, जेनजी आन्दोलनमाथि भएको बर्बर दमन र त्यसपछि भएका मानवीय क्षति, निजी र सार्वजनिक सम्पत्तिमाथिको आक्रमण लगायतका अक्षम्य हिंसात्मक घटनाहरुको उच्चस्तरीय न्यायिक छानविन र २०४६ पछिका उल्लेख्य भ्रष्टाचारका मुद्दाहरुमाथि निष्पक्ष अनुसन्धान र न्यायिक निरुपणका लागि स्वतन्त्र आयोगहरुको गठन नयाँ सरकार बनेको १५ दिनभित्र बनाउन पनि आह्वान गरेको छ।
रास्वपाले संविधानको मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूति जस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा कहिल्यै सम्झौता नगर्ने पनि बताएको छ।









