काठमाण्डू, – कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी नेपालसहित विभिन्न राजनीतिक दलका १६ नेताले जेनजी पुस्ताको भावनाअनुसार संविधानसम्मत् ढंगले अन्तरिम सरकार गठन गर्न अपिल गरेका छन् ।
बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले उक्त आह्वान गरेका हुन् । उनीहरुले जनताको निराशा बुझेर समाधानको पहलकदमीमा कमी भएको र पार्टीमा लोकतान्त्रिक मूल्य स्थापित गर्न नसक्नुमा आफूहरूको पनि कमजोरी रहेको बताएका छन् ।
उनीहरूले जेनजी आन्दोलन क्रममा भएको जनधन क्षति, सार्वजनिक तथा निजी सम्पत्ति क्षति, व्यक्ति केन्द्रित हमला लगायतको छानबिन गरी दोषी यकिन गर्न र कानूनी दायरामा ल्याउन शक्तिशाली आयोग गठनको माग पनि गरेका छन् ।
राज्यको उच्च तहमा बसेका सबैको सम्पत्ति छानबिन गरी कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय आयोग गठनको माग पनि उनीहरूको छ ।
वर्तमान संविधान संशोधन र परिमार्जनबारे विभिन्न मत रहेको सन्दर्भमा ध्यान दिँदै संविधानमा गर्नुपर्ने सुधारलाई सरोकारवाला सबैसँग परामर्श गरी सिफारिस गर्न संविधान पुनरावलोकन तथा सुधार आयोग गठन गर्न माग गरेका छन् ।
आन्दोलनले उठाएका मुख्य नाराहरू सान्दर्भिक भएको निष्कर्ष निकाल्दै देशमा विद्यमान विषम परिस्थिति समाधान गर्न, शान्ति सुरक्षा कायम गर्न र समाधानका लागि सहयोगी बन्न आफूहरु प्रतिबद्ध रहेको उनीहरुले बताए ।
यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा डा. मिनेन्द्र रिजाल, एनपी साउद, चन्द्र भण्डारी, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, जनार्दन शर्मा, देवेन्द्र पौडेल, धनश्याम भुसाल, प्रकाश ज्वाला, रामकुमारी झाँक्री, राजकिशोर यादव, अमरेशकुमार सिंह, सुदन किराती, मिना तामाङ र सन्तोष परियार छन् ।









