images
images
images

अन्तरिम सरकार बनाउने प्रक्रिया लिएर शीतलनिवासमा दिउँसो वार्ता हुने

काठमाडौं — पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन कुन प्रावधान र प्रक्रियामा गर्ने भन्ने विषयमा शुक्रबार दिउँसो बैठक बस्ने भएको छ। सबै विषय टुंगिए शुक्रबार बेलुकासम्म कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाउने तयारी भएको स्रवतले जानकारी दिएको छ।

शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु हुने भनिएकामा दिउँसोलाई सरेको हो। बैठकले टुंग्याउन बाँकी रहेका विषयलाई टुंग्याउने पनि स्रोतले जानकारी दिएको छ।

उक्त छलफलमा जेनजीका तर्फबाट राखिएको संसद विघटनको मागमा भने सहमति हुन सकेन।

छलफलमा संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ।

यद्यपि, अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष नियुक्त गर्ने विषयमा भने प्रारम्भिक सहमति बनिसकेको छ।

छलफलमा जेनजी समूहको प्रतिनिधित्व गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए, जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्। बालेन शाहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको पक्षमा समर्थन जनाइसकेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार नेपाली कांग्रेसका नेताहरू तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि परामर्श गरेका थिए।

स्रोतका अनुसार, कांग्रेस नेताहरूले कार्कीको नेतृत्वमा सरकार गठन गर्न सकिने धारणा व्यक्त गरेका छन् भने प्रचण्डले पनि उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्।