काठमाडौँ – सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले संविधानवादबाटै समस्याको समाधान निकाल्न आह्वान गरेका छन्। जेनजीको आन्दोलनबाट उत्पन्न परिस्थितिमा विधिको शासन र संविधानवादभन्दा बाहिर गएर निकास नहुने बताएका हुन्।
सैन्य शासनको संभावनाप्रति नागरिकले चिन्ता व्यक्त गरिरहेका बेला उनीहरुले संविधानवादबाट टाढा जान नहुने उल्लेख गरेका हुन्।
घिमिरे र दाहालले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनबाट कांग्रेस एमालेको सरकार ढलेपछि नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलबाट भइरहेको प्रयासलाई स्वागत गरेका छन्।
‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ, घिमिरे र दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको अगाडि भनिएको छ,
‘यस सन्दर्भमा बिधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौ। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिवद्ध हुन हामी सबैलाई अपिल गर्दछौ।’
उनीहरुले आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।










