images
images
images

अब नेपाललाई विश्वकै अगाडि उज्यालो बनाउने छौँ: चौधरी

काठमाडौँ– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण कुमार चौधरीले जेन-जीको आन्दोलनपछि देशलाई थप उज्यालो बनाउने अवसर प्राप्त भएको बताएका छन्।

शुक्रबार फेसबुकमा एक सन्देश लेख्दै चौधरीले भनेका छन्– ‘यो देशले हामीलाई सबैथोक दिएको छ। अब हाम्रो पालो हो। हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ। यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो।’

जेन-जी युवाहरूले आन्दोलन गर्दा २४ गते चौधरी ग्रुपमाथि पनि तोडफोड र आगजनी गरेका थिए। सिजी होल्डिङ्स, शिक्षा, ऊर्जा र पूर्वाधारलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेतृत्व गरिसकेका चौधरीले अब सन्तानको भविष्य उज्यालो हुने विश्वास लिएका छन्।

‘गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन्, जब आवाजहरू एकताबद्ध हुन्छन्, तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ। त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ’, उनले भनेका छन् ‘हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ। तर विगतलाई हामी पछाडि छोडिसक्यौँ। आजको दिन हाम्रो हातमा छ। अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ।’

अबको क्षण हाम्रो हो भन्दै उनले देशको पुन:निर्माणमा लाग्ने बताएका छन्। ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु’, उनले भनेका छन्।