images
images

संसद विघटन गर्दै अन्तरिम प्रधानमन्त्रीमा सुशीला कार्कीको आजै शपथ गर्ने तयारी

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलसहितको बैठकमा संसद् विघटन गर्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ सरकार प्रमुख बनाउन सहमति जुटेको छ।

दिनभरि भएका विभिन्न पक्षका छलफलपछि संसद विघटन गर्ने सहमति राष्ट्रपतिसहित बैठकमा सहभागीहरूले गरेका हुन्।

स्रोतका अनुसार शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने नियुक्तिपत्र मस्यौदा तयार भइरहेको छ।

कार्कीले शुक्रबार नै शपथ गर्नेगरी तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।

जेनजी प्रतिनिधि रक्षा बमले पनि यसमा सहमति भएको जानकारी दिएकी छन्।

यसअघि संसद् विघटनलगायतका विषयमा सहमति नहुँदा शुक्रबार दिनभरि अन्यौलको अवस्था थियो।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन कुन प्रक्रियामा गर्ने भन्ने र संसद् विघटनको विषयमा अन्यौल हुँदा शुक्रबार बिहान ९ बजेबाट पुनः छलफल सुरु भएको हो। यद्यपि औपचारिक संवाद बेलुका ६ बजेपछि सुरु भएको थियो।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा बिहीबार दिनभर र रातभर शीतल निवासमा संवैधानिक विज्ञ, पूर्वप्रधानन्यायाधीश कार्की र नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको सहभागितामा गहन छलफल भएको थियो।

छलफलमा जेनजी समूहको प्रतिनिधित्व गर्दै अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए, जो काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार पनि हुन्। बालेन शाहले कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको पक्षमा समर्थन जनाइसकेका थिए।

राष्ट्रपति पौडेलले बिहीबार नेपाली कांग्रेसका नेताहरू तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि परामर्श गरेका थिए।

स्रोतका अनुसार, कांग्रेस नेताहरूले कार्कीको नेतृत्वमा सरकार गठन गर्न सकिने धारणा व्यक्त गरेका थिए भने प्रचण्डले पनि उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका थिए।