images
images
images

‘आगजनीबाट क्षति भएको निजी क्षेत्रलाई सफ्ट लोन दिएर भएपनि सहयोग गर्छौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै अब निजी क्षेत्रलाई अघि बढ्न राज्यले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

 

प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण पछि सचिवहरूसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको विवरण लिने र आवश्यक सहयोग प्रदान गर्ने योजना बनाइरहेको जानकारी दिइन् ।

उनले अनुसार, सरकार साना व्यापारीदेखि ठुला उद्योगीसम्मलाई आवश्यक सहयोग गर्ने उद्देश्य राखेको छ। यसमा बैंकको सफ्ट लोन वा अन्य आवश्यक सहयोगको विकल्पसमेत समावेश छ ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘व्यक्तिका घर, सम्पत्ति, सुरक्षा निकायदेखि सिंहदरबार, संसद्, अदालत जलाउने काम भयो । उद्योगी, व्यापारी र इन्टरप्रेनरहरूको सम्पत्ति समेत प्रभावित भयो । कतिपय व्यापारी अब उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । त्यसैले राज्यले उनीहरुलाई कसरी सहयोग गर्ने भन्ने विषयमा विचार गर्दैछ ।’

उनले निजी क्षेत्रले क्षतिको बाबजुत पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा प्रशंसा गर्दै साना व्यापारीहरूलाई समेत आवश्यक सहयोग प्रदान गर्ने स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले घटनामा संलग्नहरू विरुद्ध छानबिन चल्ने र सत्य तथ्य बाहिर ल्याइने पनि बताइन् ।