images
images
images

देशभर १५३ स्थानमा दसैं लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौं – दसैं र अन्य चाडपर्वलाई लक्षित गर्दै सरकारले सोमबारदेखि देशभर सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ। उपभोक्तालाई सहज रूपमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यसहित काठमाडौँ उपत्यकासहित १५३ स्थानमा यी पसल सञ्चालनमा आएका हुन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४५ जिल्लाका १११ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले २९ जिल्लाका ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न थालेका हुन्।

यी पसलमार्फत दैनिक उपभोग्य वस्तुहरूमा प्रतिकेजी वा प्रतिलिटर पाँचदेखि १० रुपैयाँसम्म छुट दिइनेछ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार पसलहरूबाट चामल, दाल, गेडागुडी, तेल, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटी, फापर, चिनो, कागुनोजस्ता कर्णालीका रैथाने उत्पादनसमेत सुपथ मूल्यमा बिक्री गरिनेछ।

कम्पनीले विभिन्न खाद्यवस्तुमा छुट दिँदा सरकारले त्यसको बराबरको रकम शोधभर्ना स्वरूप उपलब्ध गराउनेछ। यस वर्ष करिब दुई करोड ५२ लाख रुपैयाँ बराबरको सहुलियत दिने तयारी गरिएको छ।

काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ, नक्खु, सूर्यविनायक, दक्षिणकाली, गोदावरी, चाँगुनारायण लगायत स्थानमा बिक्री केन्द्र स्थापना गरिएको छ। यस्तै, घुम्ती सेवा मार्फत पनि पसल सञ्चालन गरिने कम्पनीले जनाएको छ।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनले पनि काठमाडौँ उपत्यकाका ११ स्थानसहित तीन वटा मोबाइल भ्यानमार्फत १४ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। उपत्यकाबाहिरका २२ जिल्लामा पनि मागका आधारमा पसल विस्तार गरिनेछ।

कर्पोरेसनले चिनीमा प्रतिकेजी पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, र तेल, चामल, चिउरा, पिठोमा सात रुपैयाँसम्म छुट दिने जनाएको छ। कालीमाटीस्थित केन्द्रीय कार्यालयसहित सतुङ्गल, ललितपुर, बालाजु, गौशाला, कपन, कौशलटार, भक्तपुर, कोटेश्वर, जाउलाखेल र स्वयम्भूमा बिक्री केन्द्र सञ्चालनमा आएका छन्।

कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीका अनुसार एक उपभोक्ताले अधिकतम ६ केजी नुन, दुई केजी चिनी, र समान परिमाणमा चामल, तेल, दाल तथा चिउरा खरिद गर्न पाउने व्यवस्था गरिएको छ।

सरकारको यो पहलले चाडपर्वको समयमा बजारमा कृत्रिम अभाव तथा मूल्यवृद्धि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।