काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई ६ सुझाव दिएका छन् । नेता श्रेष्ठले कार्की प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै फोन सम्पर्क गर्ने प्रयास गरे पनि सफल नभएपछि सामाजिक सञ्जालबाट सुझाव दिनुपरेको बताएका हुन् ।
उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री कार्कीलाई सम्बोधन गर्दै दलभन्दा बाहिरका क्षमतावान् व्यक्तिलाई समेटेर चाँडोभन्दा चाँडो मन्त्रिपरिषद्लाई पूर्णता दिन तथा सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्न सुझाव दिएका छन् ।
‘तपाईँले छिटो राजनीतिक दलहरूभन्दा बाहिरका स्वतन्त्र ,निष्ठावान् ,देशभक्त , स्वच्छ एवं क्षमतावान् व्यक्तिहरू मन्त्रीहरू नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस्’, उनले भनेका छन्, ‘तपाईँले सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।’
- यस्तो छ उनको सुझाव
सम्माननीय प्रधानमन्त्रीज्यू ,
तपाईँ प्रधानमन्त्री नियुक्त हुनु भएपछि देखि नै मैले तपाईँलाई फोन मार्फत बधाई ,शुभकामना र केही सुझावहरू दिन खोजेको थिएँ। तपाईँको फोन सम्पर्क हुन सकेन । तपाईँको नियमित सम्पर्कमा तपाईँसँगै रहने व्यक्तिहरू मार्फत गरिएको प्रयत्न पनि सफल हुन सकेन । मैले बधाई र शुभकामना यस अघि नै सार्वजनिक गरिसकेको छु ।तर तपाईँलाई फोन सम्पर्क गरेर नै केही सुझावहरू दिने प्रयत्न असफल भएपछि यस सामाजिक सञ्जालको माध्यम मार्फत केही महत्त्वपूर्ण सुझावहरू दिन चाहन्छु ।
एक ,तपाईँले छिटो राजनीतिक दलहरू भन्दा बाहिरका स्वतन्त्र, निष्ठावान् ,देशभक्त , स्वच्छ एवं क्षमतावान् व्यक्तिहरूलाई मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिनुहोस् ।
दुई , तपाईँले सम्पूर्ण ध्यान मुलुकमा शान्ति सुव्यवस्था स्थापना गर्न र मुख्यतः घोषित मितिमा स्वतन्त्र एवं निष्पक्ष निर्वाचन गर्नेमा केन्द्रित गर्नुहोस् ।
तीन , भाद्र २३ गते र भाद्र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूमाथि कारबाही गर्नुस् ।
चार , ध्वंस गरिएका संरचनाहरूको पुनः निर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया सुरुवात गरियोस् ।
पाँच , भ्रष्टाचार विरुद्ध हाम्रो सरकारले थालेका कारबाही हरूलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाइयोस् ।
छ, प्रतिनिधिसभा नरहेको अवस्थामा सङ्घीय संसद्को भूमिका राष्ट्रियसभाले खेल्ने भएकाले संसद्को आवश्यक भूमिका राष्ट्रियसभामार्फत गर्न ध्यान दिइयोस् ।
सम्माननीय प्रधानमन्त्रीज्यू , तपाईँ लोकरिझ्याइँका अन्य छिटपुट काममा होइन, उपरोक्त कार्यहरूमा, त्यसमा पनि मुख्यतः घोषित मितिमै निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्नुहोस् । तपाईँको सरकार असफल भयो र घोषित मितिमा निर्वाचन सम्पन्न हुन सकेन भने देश भयावह सङ्कटमा धकेलिनेछ। अरू सबैले पनि यस प्रति सचेत हुँदै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सहयोग गरौँ ।









