काठमाडौँ – नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा एक व्यक्तिले आक्रोश पोखेका छन्।
उनी पर्वतका शालिकराम पौडेल हुन्।
पौडेल अर्थमन्त्री खनालले आफ्ना कुरा राखुन्जेल सुनेर बसिरहे।
जब खनालले आफ्ना कुरा राखिसके, अनि उनी बोले।
‘आफ्ना कुरा पनि केही राख्नुछ’ भन्दै अर्थमन्त्रीको छेवैमा पुगेका उनले अर्थसचिव घनश्याम उपाध्यायको कार्यशैलीमाथि प्रश्न उठाए।
‘यो अर्थ मन्त्रालयबाट अहिलेको बजेट ल्याउँदा अर्थसचिव उहाँ (घनश्याम उपाध्यायतर्फ औंला देखाउँदै) नै हो नि, हैन ? यो देशमा ७७ जिल्ला छन् कि ७ वटा जिल्ला छन् ? तपाईं यही अर्थमा बसेर ७ वटा जिल्लाको मात्रै बजेट ल्याएको मान्छेले अहिले यो बजेट कसरी टिकायो ?,’ उनको प्रश्न थियो।
त्यसपछि मन्त्री खनालले ‘एक छिन ल’ भन्दै रोक्दा उनी थप जङ्गिए। ‘हामीले पनि आन्दोलन गरेका हौँ। तपाईँ त्यसै मन्त्री भएको हो र ? कुरा सुन्नुस् यहाँ,’ भन्दै आक्रोश व्यक्त गर्न थाले पछि प्रहरीले उनलाई तानेको थियो।
तर उनी नरोकिएपछि मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुरको शुभ नाम के पर्यो ?’ भनेर सोधेका थिए। जवाफमा पौडेलले आफ्नो परिचय दिँदै मन्त्रालयमा बदमासहरू रहेकोले आन्दोलन भएको बताएका थिए। ‘एक छिन मन्त्री भएर हुन्छ, काम गर्न कति सजिलो छ र ?’ उनले प्रश्न गरेका थिए।










