काठमाडौं– गत भदौ २३ गते सुरु भएको जेन–जी प्रदर्शन र २४ गतेको हिंसात्मक आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबाट नेपाल उद्योग परिसंघ (सीएनआई) मातहतका उद्योग व्यवसायमा मात्र करिब ३६ अर्ब रुपैयाँ बराबरको क्षति प्रारम्भिक अनुमान छ ।
क्षतिको विवरण आउने क्रम जारी रहेको र मूल्यांकनको काम भइरहेकाले क्षतिको संख्या र रकम अझै बढ्ने अनुमान गरिएको सीएनआईले जनाएको छ ।
मुलुकभर सञ्चालनमा रहेका ती उद्योग व्यवसायमा क्षति पुग्दा करिब साढे १५ हजार रोजगारी प्रत्यक्ष प्रभावित भएको प्रारम्भिक अनुमान छ । परिसंघअन्तर्गत केन्द्रमा ३ सय ५० साना तथा मझौला उद्यमी सदस्य रहेका छन् भने मुलुकभर करिब ७ हजार सदस्य छन् ।
प्रर्दशनको क्रममा धेरै रोजगारी प्रदान गरिरहेका होटेल तथा पर्यटन क्षेत्र, भाटभटेनी सुपरमार्केट, चौधरी ग्रुप, चन्द्रागिरी केवलकार, मौलाकालीका केबलकारलगायत संस्थाले प्रदान गरेको राजगारीको संख्या मात्र हो ।
आन्दोलनका क्रममा मुलुकभर धेरै उद्योग व्यवसाय, व्यापारिक मलमा क्षति पुगेकाले प्रत्यक्ष रूपमा रोजगारी प्रभावित हुने संख्या अझै बढ्ने सिधा अनुमान गर्न सकिन्छ । यद्यपि उल्लिखित व्यावसायिक घरानाहरूमा आफ्नो व्यवसायमा क्षति पुगे पनि कर्मचारीलाई तत्काल रोजगारीबाट नहटाउने बताएका छन् । यसकारण यहाँ उनीहरूको रोजगारी गुम्नुभन्दा पनि केही समयका लागि प्रभावित हुने रूपमा विश्लेषण गरिएको छ ।
मुलुकभर रहेका २८ भाटभटेनी सुपरमार्केटमा करिब १० हजार कर्मचारी कार्यरत थिए । तीमध्ये आन्दोलनका क्रममा २१ वटामा क्षति पुगेको छ । तीमध्ये ९ वटामा अहिले क्षति पुगेका सुपरमार्केट तोडफोड मात्र भएको थियो । ती सपरमार्केट सञ्चालनमा आइसकेका छन् । बाँकी १२ वटा सुपरमार्केटमा पूर्ण रुपमा ध्वस्त भएका छन् । ती हाल सञ्चालनमा छैनन् ।










