काठमाडौं, असोज १ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा आज पार्टीको पदाधिकारी, केन्द्रीय सदस्य, तथा भातृ/शुभेच्छुक संगठनका प्रमुखहरूको बैठक सम्पन्न भएको छ ।

पार्टी कार्यालय बबरमहल काठमाडौंमा भएको बैठकले आउँदो चैत्र ६ र ७ गते पार्टीको केन्द्रीय अधिवेशन गर्ने निर्णय गरेको छ । त्यससँगै बैठकले असोज ३ गतेलाई ‘कालो दिन’का रूपमा यथावत् राख्दै ‘शोक दिवस’का रूपमा मनाउने निर्णयसमेत गरेको छ । सो अवसरमा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूले कालोपट्टी बाँधी कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् ।

पार्टीका अनुसार असोज ३ गतेको दिन देशमा मानवअधिकार उल्लंघन र उत्पीडनको ऐतिहासिक सम्झनामा कालो दिनको रूपमा मनाउने परम्परा रहेको छ । विशेषगरी जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति प्रति सम्मान प्रकट गर्नका लागि एक मिनेट मौनधारण गरिनेछ ।

बैठकले आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेको छ । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले बैठकपछि प्रेस विज्ञप्ति मार्फत जनाएअनुसार, लोकतन्त्र, सामाजिक न्याय र समावेशी आन्दोलनप्रति पार्टीको प्रतिबद्धता यथावत् रहेको र आन्दोलनमा सहभागी सबैप्रति सम्मानजनक व्यवहार गरिनुपर्नेमा पनि बैठकले जोड दिएको छ ।










