images
images
images

आक्रोशको ज्वालाले देश ध्वस्त, अब शोकलाई शक्तिमा परिणत गर्नुपर्छः अष्टलक्ष्मी शाक्य

काठमाडौँ- नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले हालैको आन्दोलनका कारण उत्पन्न आक्रोशको ज्वाला आगोमा परिणत भइ देश ध्वस्त भएको बताएकी छन् ।

संविधान दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले देश अहिले शोकाकुल र पीडित अवस्थामा रहेको उल्लेख गरिन् ।

उनले भनिन्, “आक्रोशको ज्वाला आगोमा परिणत हुँदा देश ध्वस्त भयो । हामी सबै मर्माहत छौँ, शोकाकुल छौँ । तर अब यो शोकलाई शक्तिमा परिणत गर्दै अघि बढ्नुपर्छ ।”

शाक्यले नयाँ पुस्ताको मागलाई न्यायसंगत भन्दै भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको आवाजलाई बेवास्ता नगर्न सबैलाई आग्रह गरिन्।

उनले आन्दोलनको माग सम्बोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, “जेन जी पुस्ताले रोजगारीको लागि आमाको काख र जन्मभूमि छोडेर विदेशिनुपर्ने बाध्यता भोगिरहेका छन् । यस्तो बेलामा उनीहरूले देशमा केही गर्नुपर्छ भन्ने भावना लिएर आन्दोलन अघि बढाएका थिए । तर यसलाई धमिलो पानीमा माछा मार्ने तत्वहरूले दुरुपयोग गरे, जसले धेरै युवाको ज्यान गयो ।”

उनले सबै राजनीतिक दलहरूले अब स्पष्ट दृष्टिकोणसहित युवा पुस्ताप्रति उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याइन् । एमाले उपाध्यक्ष शाक्यका अनुसार अहिलेको असहज अवस्थालाई सहज बनाउन सबै दलले पुनःगठन गर्दै लोकतान्त्रिक अभ्यासलाई नयाँ ढंगबाट अघि बढाउन जरुरी छ ।

शाक्यले भनिन्, “राम्रा काम आत्मसात गर्दै कमजोरी सच्याउनुपर्छ । समयमै निर्वाचन हुनुपर्छ । नेपाली जनताको एकतालाई बलियो बनाएर मात्रै नयाँ नेपाल र समृद्ध नेपाल सम्भव हुन्छ ।”

साथै, उनले अफ्ठ्यारो परिस्थितिमा पनि मनोबल कमजोर पार्न नहुने बताउँदै सुरक्षा निकायसम्म असुरक्षित बनेको यो परिस्थितिलाई एकताबद्ध भएर मात्र पार गर्न सकिने जिकिर गरिन् ।