images
images
images

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौं, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । उक्त बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिने उनले बताए ।

हाल काठमाडौंको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा २०० भन्दा बढी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् ।

यस्तै, दसैँका लागि आन्तरिक उडानका अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैला दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताए । ‘अधिकांश यात्रुले हवाई टिकट होल्ड गरेर राखेको अवस्था छ,’ उनले भने ।

यसैगरी, यातायात व्यवसायीले भने यसवर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जेनजीको प्रदर्शनका कारण क्याम्पसहरु बन्द हुँदा अधिकांश यात्रुहरु घर गइसकेकाले अग्रिम टिकट बुकिङ नखोलिएको बताए ।