काठमाडौं – बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पामा निर्माणाधीन १० श्ययाको आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ। विसं २०७८ माघमा आठ करोड २४ लाखमा ठेक्का सम्झौता भई सुरु गरिएको निर्माण कार्य विसं २०८० पुसमा सम्पन्न गर्ने लक्ष्य थियो। तर हालसम्म ८० प्रतिशत मात्र काम सम्पन्न भएको छ।
निर्माण कम्पनीका प्रमुख दीपककुमार अदैका अनुसार पालिकाबाट करिब रु १ करोड १० लाख भुक्तानी बाँकी छ भने थप करिब रु ६० लाख आवश्यक छ। बजेट नआउँदा विद्युत् जडान, रङरोगन र फिनिसिङजस्ता काम रोकिएका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले सङ्घीय सरकारबाट आउने रु १ करोड ५० लाख नआएकै कारण काम रोकिएको बताए। उनका अनुसार बजेटका लागि मन्त्रालयमा पत्राचार भए पनि अझै रकम उपलब्ध भएको छैन।










