जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन जेडको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादसैँपछि पूर्ण रूपमा सेवा प्रवाह गर्ने बताएका छन् ।
उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेन जेड प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरू पूर्ण रूपमा सञ्चालनमा आउने बताए ।
सुरक्षामा क्रमिक रूपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरू आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए ।
प्रदेशसभा भवनसहित मन्त्रालयहरूको क्षति भएको संरचनाहरूको मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय , ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरू पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरू पनि लुटपाट भएको छ ।










