मोरङ – स्थानीय तहले असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सुनसरीको धरान उपमहानगरपालिकाले तीन महिना ढिलो गरी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ।
शनिबार आयोजित १७ औं नगरसभामा उपप्रमुख अइन्द्रविक्रम बेघाले कुल २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।
बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट ८९ करोड २९ लाख रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट ७ करोड ७३ लाख ४४ हजार रुपैयाँ र राजस्व बाँडफाँटबाट ३४ करोड १८ लाख ५० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
साथै आर्थिक विकासतर्फ रु. एक करोड २९ लाख, वन वातावरण ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ रु. दुई करोड ७४ लाख ५० हजार, कानुन तथा न्याय सम्पादनतर्फ रु. २० लाख, सार्वजनिक जग्गा संरक्षणतर्फ रु. १५ लाख, राजस्व परिचालनतर्फ रु. ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ रु. पाँच करोड पाँच लाख विनियोजन गरिएको छ । चालु आवका लागि धरानका २० वटा वडाका लागि रु. २१ करोड विनियोजन गरेको छ ।
त्यसैगरी नगर कार्यपालिकातर्फ नि:सर्त विनियोजन र एक अर्ब ३१ करोड ९२ लाख ८२ हजार, ससर्त अनुदानबाट रु. ६० करोड ५६ लाख ७७ हजार, समपूरक बजेटबाट रु. एक करोड ८२ लाख र विशेष अनुदानबाट रु. पाँच करोड ४३ लाख विनियोजन गरिएको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सामाजिक विकास, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा बजेट प्राथमिकता दिइएको उपप्रमुख बेघाले बताए।










