images
images
images

जेन जेड आन्दोलनबाट चौधरी ग्रुपमा ५ अर्बको रुपैयाँ बराबरको प्रारम्भिक क्षति

काठमाडौँ -२३ र २४ भदौमा देशभरि भएको जेन जेड आन्दोलनका कारण चौधरी समूह (सीजी) लाई करिब ५ अर्ब रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको समूहले जनाएको छ ।

यो क्षति आन्दोलनकारीले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण भएको हो । शनिबार अर्थमन्त्री रामेश्वर खनालले गरेको सतुंगलस्थित सीजी इलेक्ट्रोनिक्स कारखाना निरीक्षण क्रममा समूहले सरकार समक्ष यस्तो जानकारी गराउँदै क्षतिग्रस्त व्यवसायको पुनरुत्थानका लागि विशेष राहत र सुविधा माग गरेको छ ।

२४ भदौको आन्दोलनले विशेष गरी विभिन्न व्यावसायिक प्रतिष्ठानलाई लक्षित गरेको र त्यसको प्रत्यक्ष मारमा आफ्नो समूह परेको सीजीले स्पष्ट पारेको छ ।

सीजीका अनुसार सतुंगलमा रहेको इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनीका कारण भवन, मेसिनरी, यन्त्र उपकरण, व्यावसायिक मौज्दात, तयारी सामान तथा सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन् ।

यसैगरी सोही परिसरमा रहेको सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत क्षति पुगेको छ । राजधानी लगायत विभिन्न स्थानमा रहेका समूहका अन्य प्रतिष्ठानहरू पनि यसको चपेटामा परेका छन् । थापाथलीमा रहेको सिजी मोटर्सको शोरुम र हरिसिद्धिमा रहेको सर्भिस सेन्टरमा तोडफोड तथा आगजनी गरिएको छ ।

सीजी अध्यक्ष विनोद चौधरीको निजी निवास रवि भवन र बर्दघाटमा रहेको निवास तथा कार्यालयमा समेत तोडफोड, लुटपाट र आगजनी गरिएको छ ।