images
images
images

सेयर बजार घटेपछि लगानीकर्ता पुगे राष्ट्र बैंक, गभर्नर डा. पौडेल समक्ष ६ बुँदे माग पेश

काठमाडौं – सेयर बजारमा गिरावट आएको भन्दै भन्दै केही लगानीकर्ता नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेट गरेका छन् । लगानीकर्ताले आज पौडेललाई भेट गरेका हुन् ।

लगानीकर्ताहरुले सेयर बजारमा आएको अस्वाभाविक गिरावट सम्बन्धी ध्यानाकर्षण गराउन गभर्नर प्रा.डा पौडेललाई भेटगर्दै ६ बुँदे ज्ञापन पत्र समेत पेश गरेका छन् ।

जेनजी आन्दोलनका क्रममा करिब एक साता बिना कारण लगानीकर्ताका संघ संगठनले गरेको विरोधका कारण १ साता बन्द भएको थियो । बन्द भएर पहिलो कारोबार भएको दिन बजार ६ प्रतिशतले नकारात्मक सर्किट लागेको थियो । त्यसपछि लगानीकर्ताले आज गभर्नर भेटेका हुन् ।

बिहीबारको कारोबारमा बजार ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दै, ७२ करोड मात्र कारोबार भएको थियो । १६० अंकभन्दा बढी सूचकांकमा ह्रास भई करिब ३ खर्व पुँजिकरण ह्रास आएको लगानीकर्ताको दाबी छ । लगानीकर्ताले गनर्भर सँगके भेटमा ६ बुँदे ज्ञापन पत्र पेश गरेका छन् । बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज कारोबार गर्न दिन माग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर बजारमा सहभागी हुन र पुँजी बजारलाई थप गतिशील बनाउन नीतिगत व्यवस्था सहज बनाइनु आवश्यक रहेको जनाएका छन् ।

यसका लागि विद्यमान नीतिगत प्रतिबन्धहरू परिमार्जन गरी बैंक तथा वित्तीय संस्थाहरूलाई दोस्रो बजारमा सहज रूपमा खरिद ÷ विक्री गर्न अनुमति दिने, स्वेच्छा र विवेकपूर्ण ढंगले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने व्यवस्था गर्नुपर्ने माग छ । यसले बजारमा दीर्घकालीन तरलता प्रवाह बढाउने मात्र होइन, सम्पूर्ण पूँजी बजारलाई स्थायित्व र विश्वास दिलाउने आधार पनि तयार हुने जनाइएको छ ।

यस्तै व्यक्तिगत सेयर धितो कर्जाको सिमा खारेज गर्न माग गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत रूपमा एकल परिवारलाई ऋण प्रवाह गर्ने २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न आवश्यक देखिन्छ । यसले लगानीकर्ताको पहुँचलाई सहज बनाउने मात्र होइन, विश्वस्त तथा लगानीकर्तामैत्री वातावरण निर्माण गर्न पनि महत्वपूर्ण योगदान पुर्याउने जनाएको छ ।

यस्तै लघुवित्त संस्थाले २५ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्न नपाउने हालको व्यवस्था नेपालले अंगिकार गरेको खुला अर्थनीतिको सिद्धान्त विपरीत रहेको जनाएका छन् । यो नियमलाई परिमार्जन गरी संस्थाहरूको वास्तविक नाफा तथा वित्तीय क्षमताका आधारमा लाभांश वितरण गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पुँजिकोषको पुँजिबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए वमोजिमको सिमा कायम राख्नुपर्ने आवश्यकता देखिने जनाएका छन् ।

यस्तै लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाले प्रवाह गरिरहेको सेयर कर्जाको सीमा वर्तमान आर्थिक अवस्था र पूँजी बजारको विस्तारसँग तुलना गर्दा निकै पुरानो भइसकेको छ। यसलाई समयसापेक्ष रूपमा वृद्धि गर्नु जरुरी छ, जसले बजारमा तरलता सहज पार्ने, लगानीकर्ताको पहुँच बढाउने र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्ने जनाएका छन्

लगानीकर्ताले गैरआवासीय नेपालीले नेपालको पुँजी बजारमा लगानी गर्दा हालका कानुनी र प्रक्रियागत अड्चनका कारण आफो लगानीसहित प्राप्त नाफा सहज रूपमा पुनः स्वदेश बाहिर लैजान नसक्ने अवस्था रहेको जनाएका छन् । यस्तो जटिलतालाई परिमार्जन गरी, गैरआवासीय नेपालीलाई आकर्षित गर्ने खालको सहज र पारदर्शी लगानी वातावरण सिर्जना गर्न आवश्यक छ ।

यसले नेपालको पुँजी बजार मात्र नभई समग्र अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने भएकाले तत्काल नीति संशोधन गरी गैरआवासीय नेपालीलाई लगानीका लागि आह्वान गर्नुपर्ने देखिन्छ । उल्लेखित सुझावहरूलाई यथा सम्भव सम्बोधन गरी पुँजी बजारलाई स्थायित्व तथा दिगो विकासको दिशामा टेवा पुर्याऊने जनाएका छन् ।