images
images
images

कोरिया रोजगार: रोस्टरमा रहेकाहरूलाई कसले इस्यु गराउँछ ?

काठमाडौं – कोरियन भाषा उत्तीर्ण गरेर रोस्टरमा नाम रहेकाहरू ठगीमा पर्न सक्ने जोखिम बढेको छ। रोस्टरमा नाम रहेकाहरूलाई इस्यु गराइदिने भन्दै ठगी गर्नका लागि केही समूह सक्रिय बनेको भन्दै ईपीएस कोरिया शाखाले यसको पछि नलाग्न आग्रह गरेको छ। शनिबार सूचना जारी गरेर रोस्टरमा रहेकाहरूको इस्सु गराउने आश्वासन दिने गरेको गुनासोहरू सामाजिक सञ्जालमा आउन थालेपछि शाखाले सूचना जारी गरेर सचेत गराएको हो।

परीक्षा उत्तीर्ण गरेपछि के हुन्छ प्रक्रिया 

शाखाका अनुसार एचआरडी कोरियाबाट कोरियन भाषा परीक्षा लिएपश्चात उत्तीर्ण व्यक्तिलाई रोस्टरमा नाम चढाउनका लागि उनीहरूको फाइल नेपालले कोरिया पठाउँछ।

कोरियाले उक्त फाइलहरुको रुजु गरी रोस्टरमा नाम चढाउँछ। त्यसपछि जब सेन्टरले फाइल रोजगारदाता समक्ष पुर्‍याउने, रोजगारदाताले ईस्सु गर्ने, श्रम करार पठाउने जस्ता काम कोरियाबाट हुने गर्दछ।

कोरियाले कामदारको छनौटको जानकारी सम्बन्धित व्यक्तिको आईडीमै पठाउने गर्दछ। तर सो इस्सु सम्बन्धी कुनै पनि जानकारी कार्यालयलाई थाहा नहुने शाखाले उल्लेख गरेको छ।

कोरियन रोजगारदाताको छनौटमा परेपछि मात्र नेपाली कामदार कोरिया जान सक्छ। कोरियन भाषा परीक्षा उत्तीर्ण हुँदैमा कोरियामा रोजगारीको ग्यारेन्टी नहुने शाखाले जनाएको छ। कोरियाले तोकिएको कोटा भन्दा तेब्बर संख्या वा सो भन्दा पनि बढी नै भाषा उत्तीर्ण गराउने भएकाले उत्तीर्ण भएका सबै जना कोरिया जान नसकेका हुन्।

रोजगारीका लागि कोरियामा जाने तयारीका साथ भाषा पढिरहेका र भाषा उत्तीर्ण गरी रोस्टरमा रही इस्सुको प्रतिक्षामा रहेकाहरूलाई झूठा र भ्रमपूर्ण आश्वासनको पछाडि नलाग्न शाखाले अनुरोध गरेको छ।

शाखाका अनुसार नेपाल र दक्षिण कोरिया सरकारबीच सन् २००७ मा रोजगार अनुमति प्रणाली सम्झौता भएपश्चात हालसम्म १ लाख २० हजारभन्दा बढी नेपाली श्रमिक कोरिया गइसकेका छन्।