images
images
images

सिआइबीको जिम्मेवारी एआइजी मनोज केसीलाई

काठमाडौँ –नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)मा एआइजी डा.मनोज केसीलाई जिम्मेवारी दिइएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको सरुवा गरेको हो ।

डा.केसी प्रदेश समन्वय विभागमा कार्यरत थिए। सिआइबीको नेतृत्व दुई सातादेखि रिक्त थियो ।

डा.केसी एसएसपी हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइललाई पक्राउ गरेर चर्चामा आएका अधिकृत हुन्। पछिल्लो समय राजनीतिक नेतृत्वले उनलाई महत्वपूर्ण जिम्मेवारी दिएको थिएन।

हाल केसी प्रदेश समन्वय विभागमा कार्यरत छन्।

गत वैशाख ४ गते ६ जनाको बढुवा सिफारिस सूचीमा उनको नाम पनि सिफारिस भएको थियो।

पहिलो नम्बरमा चन्द्रकुँबेर खापुङ, दोस्रोमा लालमणि आचार्य, तेस्रोमा कृष्णहरि शर्मा पोखरेल, चौथोमा दानबहादुर कार्की, पाँचौंमा राजन अधिकारी र छैटौंमा मनोज केसी बढुवा सिफारिसमा परेका थिए।

खापुङ हाल प्रहरी महानिरीक्षक छन्। आचार्य र पोखरेल अवकाशमा गइसकेका छन्। उनीहरू २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक भएर सेवामा प्रवेश गरेका थिए।

कार्की, अधिकारी र केसी भने २०५४ चैत १८ गते प्रहरी सेवामा प्रवेश गरेका थिए।

दीपक थापा ३१औं महानिरीक्षक बनेपछि रिक्त रहेका स्थानमा एक महिनासम्म एआइजीको पदपूर्ति हुनसकेको थिएन। मनोज केसीलाई एआइजीमा छुटाएर सिद्धिबिक्रम शाहको बढुवा गर्ने तयारी थियो। तत्कालीन गृहमन्त्री रमेश लेखक केसीलाई बढुवा गर्ने पक्षमा थिएनन्। तर पार्टीभित्रै विवाद भएपछि उनको बढुवा गर्ने तर अन्तिममा नाम राख्ने गरी सूची सिफारिस गरिएको थियो।

यसरी मनोजलाई बढुवामा छुटाउने चाहना हुनुको कारण नक्कली भुटानी शरणार्थी प्रकरण हो।

नेपाली कांग्रेसका शीर्ष नेताहरू केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धानका कारण असन्तुष्ट थिए। त्यसैले केसीलाई पटक पटक सरूवा गरिएको थियो।