काठमाडौँ – काठमाडौँ महानगरपालिकाले देशका विभिन्न ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्ने भएको छ।
मेयर बालेन शाहले आइतबार सामाजिक सञ्जालमार्पत एम्बुलेन्स वितरणबारे जानकारी दिएका हुन्।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङप्रति ‘एकतर्फी प्रेम’ देखाएर सामाजिक सञ्जालबाट हराएका बालेन एम्बुलेन्स वितरणसम्बन्धी जानकारीसहितकको पोस्ट राखेर झुल्केका हुन्।
विगत एक वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण गर्ने कार्य यही असोज ७ गतेबाट सुरु गर्ने मेयर शाहले बताएका छन्।
‘गत १ वर्षदेखि विभिन्न कारणले रोकिएको एम्बुलेन्स वितरण कार्य २०८२/०६/०७ गते मङलबार बाट सुरु गर्दै छौँ। पहिलो चरणमा देशभरका दुर्गम तथा मापदण्डका आधारमा छनौट गरिएका ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्दै छौँ,’ उनले लेखेका छन्।
देशका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस् भन्ने लक्ष्यसहित एम्बुलेन्स वितरण गर्न लागिएको उनको भनाइ छ। उनले एम्बुलेन्स वितरणका लागि बनाइएको मापदण्डसमेत सार्वजनिक गरेका छन्।











