पर्सा- वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा रु २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात गरिएको हो ।
“यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो”, प्रमुख भन्सार प्रशासक ज्ञवालीले भने ।
गत आवको दुई महिनाको अवधिमा पेट्रोलियम पदार्थ आयातबाट कार्यालयले रु नौ अर्ब ८९ करोड राजस्व सङ्कलन गरेको थियो । त्यस्तै चालु आवको दुई महिनामा पेट्रोलियम पदार्थबाट रु ११ अर्ब १८ करोड सङ्कलन गरेको छ ।
चालु आवको दुई महिनामा रु ११ अर्ब ९१ करोडको एक लाख ३२ हजार आठ सय २४ किलोलिटर डिजेल आयात गरिँदा रु पाँच अर्ब २८ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा रु १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा रु चार अर्ब ५१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।
चालु आवको दुई महिनामा रु छ अर्ब ८२ करोडको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा कार्यालयले रु चार अर्ब ५४ करोड राजस्व सङ्कलन गरेको छ ।
गत आवको सोही अवधिमा भने रु छ अर्ब ४० करोडको ६९ हजार ६४७ किलोलिटर पेट्रोल आयात हुँदा रु तीन अर्ब ९९ करोड राजस्व सङकलन भएको थियो । त्यस्तै चालु आवको दुई महिनामा रु पाँच अर्ब १२ करोडको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात हुँदा रु ९६ करोड राजस्व सङ्कलन भएको छ ।
गत आवको सोही अवधिमा भने रु पाँच अर्ब ३६ करोडको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा रु एक अर्ब राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।










