काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडा यतिबेला जीन्दगीकै तनावपूर्ण मोडबाट गुज्रिरहेकी छन् । सामाजिक सञ्जालबाट उनीमाथि अनवरत् हमला भइरहँदा जेनजी आन्दोलनका क्रममा उनको घर र माइतीघर दुवैतर्फ आगजनी भयो ।
आन्दोलन अघिसम्म श्रृंखलाको माइतीघरमा बुहारी भित्र्याउने चटारो थियो । यदि आन्दोलन नभएको भए श्रृंखला आज दाइ -भाउजूको मेहेन्दीको रमझममा हुने थिइन् । नेकपा एसका नेता विरोध खतिवडाका दुई सन्तानमध्ये छोराको विवाह भोलि (८ असोज) हुँदै थियो । ११ गते प्रितिभोज राखिएको थियो । तर, अचानक उत्पन्न भएको दुखद परिस्थितिका कारण विवाह स्थगित गरिएको पारिवारिक स्रोतले बतायो ।
जेनजी आन्दोलन अगाडिदेखि नै सामाजिक सञ्जालमा श्रृंखलाविरुद्ध घृणा फैलाउने अभियान नै चलेको थियो । खासगरि टिकटकमा चलेको ‘नेपो बेबी’ अभियानमा उनी मुख्य तारो बनेकी थिइन् । २४ गते भएको विध्वंसात्मक गतिविधिका क्रममा उनको हेटौंडास्थित माइतीघरमा भयानक आगजनी गरियो । आन्दोलनकारीहरूले दुईपटक आएर आगो लगाएका थिए । घरभित्रका सबै चिजहरु नष्ट भएका छन् ।
यस्तै श्रृंखला विवाहपछि बस्दै आएको श्रीमानको पुख्र्यौली घर पनि ध्वस्त पारिएको छ । उनका ससुरा कैलाश सिरोहियाले मण्डिखाटारमा बनाएका घरलाई आक्रमणकारीले निशाना बनाएका थिए । सिरोहिया नेतृत्वको कान्तिपुर पब्लिकेसन र कान्तिपुर टिभीको कार्यालहरुमा पनि व्यापक आगजनी र तोडफोड भयो । यो सबै घटनाक्रमहरुले गर्दा श्रृंखला ट्रमाको स्थितिमा पुगेकी छन् ।
विरोध खतिवडाका काठमाडौंमा रहेका दुई घर भने सुरक्षित रहेको बुझिएको छ । खतिवडाका पति-पत्नी काठमाडौंमा रहेको घरमा बस्छन् । एउटा घर भने भाडामा लगाइएको छ । छोराको वैवाहिक कार्यक्रमहरु काठमाडौंमै गर्ने तयारी खतिवडा परिवारले गरेका थिए ।
विरोधका छोरा बिम्ब खतिवडा अष्ट्रेलियामा बस्दै आएका छन् । आइटी पढ्न अष्ट्रेलिया गएका उनी अहिले राम्रो कम्पनीमा कार्यरत रहेको बुझिएको छ । अष्ट्रेलियामै बस्ने युवतीसँग उनी प्रेममा थिए । युवतीका पिता दुग्ध विकास संस्थानको रिटायर्ड सहसचिव हुन् । उनीहरू २-३ वर्षदेखि अष्ट्रेलियामा लिभिङ टुगेदरमा रहेको पारिवारिक स्रोतले बतायो ।
विवाहका लागि दुवैजना नेपाल आएका थिए । विवाह गरेर अष्ट्रेलिया फर्किने उनीहरूको योजना थियो । विरोध खतिवडा भने छोरा बुहारी नेपालमै बसुन् भन्ने चाहन्थे । पर्सिको विवाह स्थगित भएपछि नयाँ लगन जुराउनुपर्ने भएको छ ।










