images
images
images

तुइनखोलामा फेरि खस्यो ठूलो पहिरो, राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा फेरि पहिरो खसेको छ । मंगलबार दिउँसो ३:२० बजे खसेको भयंकर सुक्खा पहिरोले सडक पूर्णरूपमा अवरुद्ध भएको चितवनको एसपी गोविन्द पुरीले जानकारी दिए ।

चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकमा माथिबाट ठूलो सुख्खा पहिरो निरन्तर खसी रहेकोले दुईतर्फ सडक अवरुद्ध भएको उनले बताए ।

पहिरो निरन्तर खसिरहेकाले सडक नै भासिन सक्ने  जोखिम रहेकोले सवारीसाधनलाई  फिर्ता गरेर वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको छ ।

ठूलो सुक्खा पहिरो सडकमाथिबाट निरन्तर खसिरहेकोले पन्छाउन पनि कठिनाइ भएको उनले बताए । सामाजिक सञ्जालहरुमा प्राप्त भिडियोमा माथिबाट ठूलै सुख्खा पहिरोसहित चट्टानहरु खसेको देखिन्छ ।

तुइनखोलामा शुक्रबार साँझ ६:०० बजेदेखि निरन्तर खुक्खा पहिरो खसिरहेको छ । निरन्तर खसेको सुक्खा पहिरो पन्छाएर राजमार्ग खुलाइए पनि मंगलबार अपरान्ह फेरि सुक्खा पहिरो खसेको हो ।

मंगलबार बिहान करिब ५:४० बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा खसेको सुक्खा पहिरो झन्डै १० घण्टा लगाएर पन्छाएपछि अपरान्हदेखि सडक दुई तर्फी सञ्चालनमा ल्याइएको थियो ।

ठूलो सुक्खा पहिरो पन्छाउन धेरै समय लाग्ने भएपछि काठमाडौंबाट बाहिरिने र काठमाडौं आउनका लागि सडक विभागले तीन वटा वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको थियो ।