काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर भरपर्दो सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका छन्।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित पदाधिकारीहरूले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री कार्कीलाई भेट गरेका थिए। भेटमा आयुक्त भण्डारीले निर्वाचनको शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष सम्पन्नताका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सुरक्षाको व्यवस्था गर्न अनुरोध गरेका थिए।
आयुक्त भण्डारीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री मौज्दात रहेको र अभाव हुने सामग्री स्वदेशमै उत्पादित वस्तुलाई प्राथमिकता दिएर खरिद प्रक्रिया प्रतिस्पर्धात्मक तरिकाले अघि बढाइने बताए। साथै राजनीतिक दललगायत सरोकारवालासँग निरन्तर समन्वय हुने प्रतिबद्धता पनि व्यक्त गरे।
प्रधानमन्त्री कार्कीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताइन्। उनले निर्वाचन आयोगलाई आवश्यक स्रोतसाधन र जनशक्ति उपलब्ध गराइने, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने र अनुकूल वातावरण तयार पार्न सरोकारवालासँग छलफल गरिने प्रतिबद्धता जनाइन्।










