अबुधाबी—संयुक्त अरब इमिरेट्स (युएई) मा विभिन्न पेसा र व्यवसायमा संलग्न सम्पूर्ण नेपालीहरूलाई लक्षित गर्दै नेपाली दूतावास, अबुधाबीले एक महत्त्वपूर्ण सूचना जारी गरेको छ।
युएईमा बस्ने सबै नेपालीहरूलाई त्यहाँको कानुन, नियम र मूल्य-मान्यताको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको हो।
दूतावासले जारी गरेको सूचनामा विशेष गरी केही गैरकानुनी कार्यमा संलग्न भएको पाइएकाले त्यस्ता गतिविधिबाट टाढा रहन चेतावनी दिएको छ। विशेष गरी निम्न कार्यहरू नगर्न दूतावासले सबैलाई सचेत गराएको छ:
- मदिरा पदार्थको सेवन र बेचबिखन नगर्न।
- कुनै पनि व्यक्तिसँगको सरसामग्री गैरकानुनी तरिकाले नबेच्न।
- ट्राफिक नियमको पूर्ण पालना गर्न र ट्राफिक सङ्केतलाई मान्न।
- विभिन्न व्यवसाय र पेसाको लागि इजाजतपत्र (लाइसेन्स) आवश्यक पर्ने भएकाले अनुमति नलिइ गैरकानुनी कारोबार नगर्न।
- कन्सल्टेन्सी कामको लोभमा परी गैरकानुनी लेनदेन नगर्न।
- राहदानी (पासपोर्ट), इमिरेट्स परिचयपत्र (Emirates ID) र फोनका सिमकार्डको दुरुपयोग नगर्न र विशेष गरी एमरेट्स आइडी बेच्नेजस्ता कार्यमा संलग्न नहुन।
- सामाजिक सञ्जालमा व्यक्तिगत चरित्रहत्या नगर्न र गैरकानुनी सामग्री वा अनावश्यक कुराहरू पोस्ट नगर्न।
- आफ्नो चाडपर्व र संस्कृति मनाउँदा स्थानीय कानुनको पालना गर्दै दूतावाससँग समन्वय गरी कार्यक्रमको आयोजना गर्न।
- युएईमा रहेका नेपाली समुदायहरूबीच एकता र आपसी सद्भाव कायम राख्न।
दूतावासले यो पनि जानकारी गराएको छ कि युएईमा बसोबास गर्ने नेपालीहरूलाई कुनै पनि सहयोग चाहिएमा दूतावासको सम्पर्कमा आउन सक्नेछन्।
यो सूचना नेपालीहरूलाई गैरकानुनी गतिविधिबाट बच्न र सुरक्षित जीवनयापन गर्न मद्दत पुर्याउन जारी गरिएको हो।











