काठमाण्डौं, असोज ८ – हालैको ऐतिहासिक जेनजी आन्दोलनमा सहभागी युवाहरूको नेतृत्व र बलिदानलाई सम्मान गर्दै लोकतान्त्रिक विद्यार्थी संघ (लोवि संघ) ले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई विस्तृत सुझाव पत्र बुझाएको छ ।
लोवि संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले हस्ताक्षर गरेको सो पत्रमा वर्तमान राजनीतिक अवस्था, भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रताको हनन र युवाहरूको भूमिकाबारे गहिरो चासो व्यक्त गरिएको छ ।
साथै, आन्दोलनमा शहीद भएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, केही अराजक घटनाप्रति खेद प्रकट गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल अध्यक्ष ठाकुरलाई १३ बुँदे सुझाव पत्र बुझाएको छ । पत्रमा भ्रष्टाचार, विभेद र कुशासनविरुद्ध उठेका आवाजलाई सम्मान गर्दै युवालाई निर्णय तहमा अग्रसर गरिनुपर्ने माग गरिएको छ ।

लोवि संघले पार्टीका सबै तहमा ६०% युवा सहभागिता, शिक्षा सुधार, महिला सशक्तीकरण र पारदर्शी शासनका लागि स्पष्ट नीति अवलम्बन गर्न आग्रह गरेको छ । अध्यक्ष रोशन कुमार मिश्रद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “अबको राजनीति भावना होइन, परिणाममा

आधारित हुनुपर्छ।” पत्रमा लेखिएको छ, “हामी दृढ विश्वास गर्छौं अबको राजनीति भावना होइन, काम र परिणाममा आधारित हुनेछ। स्वच्छ राजनीति र युवा नेतृत्वको सहकार्यबाट समृद्ध मधेश र समृद्ध नेपाल निर्माण हुनेछ।” युवा नेताको सचिवालयमा अनिवार्य नियुक्ति माग

अत्यन्त महत्त्वपूर्ण रूपमा, लोवि संघले लोसपाको सरकारमा सहभागिता भएमा विद्यार्थी संगठनबाट कम्तीमा १ जना युवालाई सचिवालयमा नियुक्त गर्न माग गरेको छ, जसले नीतिगत निर्णयमा योगदान दिन र निगरानी गर्न सकोस् ।










