काठमाडौँ, ८ असोज – नेप्सेका अध्यक्ष, सिइओ लगायत उच्च तहका पदाधिकारीलाई कर्मचारीले कार्यालयमा थुनेर राखेपछि मध्य रातमा प्रहरीले उद्धार गरेको छ।
श्रम अदातलको आदेश विपरीत नेप्सेको सञ्चालक समितिले निर्णय गरेको भन्दै मंगलबार दिउँसोदेखि नै कर्मचारी आन्दोलनमा उत्रिएका थिए। राति १ बजे प्रहरीले उनीहरूको उद्धार गरेको स्रोतले पुष्टि गरेको छ।
नेप्सेका कर्मचारी युनियनले श्रम अदालतमा नाफाबाट कर्मचारीले बोनस पाउनुपर्ने भन्दै दिएको निवेदनमा बोनस दिन आदेश दिएको थियो।
तर, श्रम अदालतको आदेश विपरित नेप्से सञ्चालक समितिले कर्मचारीलाई बोनस नदिने निर्णय गरेपछि उनीहरू आन्दोलित भएको बताइएको छ।
कर्मचारीले प्रदर्शन गर्दै रातिको १ बजेसम्म अध्यक्ष र सिइओ सहितका पदाधिकारीलाई कार्यालयमा नै थुनेर राखेका हुन्।
नेप्से कर्मचारी युनियनका अध्यक्ष नवराज थापाले भने बोनसको विषयमा नभई नेप्सेको संरचनात्मक सुधार, पुनर्संरचनामा देखिएको उदासीनताका कारण आफूहरूले धर्ना कार्यक्रम गरेका बताएका छन्।










