images
images
images

बाबुरामले भने– भ्रष्टाचारीहरु लुटेको सम्पत्तिको बलमा चुनाव जितेर आउन सक्छन्

काठमाडौँ– नेसपा नयाँ शक्तिका नेता डा.बाबुराम भट्टराईले निर्वाचन प्रणालीमा रहेको शासकीय त्रुटि सुधार गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने बताएका छन्।

बिहीबार पत्रकार सम्मेलन गर्दै डा.भट्टराईले जेनजी प्रतिनिधिहरूलाई सुझाव दिने क्रममा सरकारसँग वार्ता गरेर यो प्रणाली सुधार गर्न आग्रह गरेका हुन्।

‘यो सरकार तपाईंहरुले बनाएको सरकार हो। यो सरकारसँग वार्ता गरेर लिखित रूपमा निर्वाचनअघि केही सुधारका काम हुनुपर्‍यो’, भट्टराईले भने– ‘पहिलो त भ्रष्टाचारीलाई कारबाही गर्ने आयोग बन्नुपर्‍यो।’ उनले घटनाको छानबिन गर्ने आयोग बने पनि त्यो एउटा अंश मात्र रहेको बताए।

उनले भने– ‘भ्रष्टचारीहरुसँग लुटेर राखेको अर्वौ सम्पत्ति छ, अलिअलि त अस्ति जल्यो तर अरू पनि लुकाएर राखेका छन्। त्यसैको बलमा उनीहरू चुनाव जितेर आउँछन्। त्यसैले यो प्रणालीमा राजनीतिक स्थिरता हुँदैन।’

त्यस्तै उनले विद्रोहका बेला दुलाभित्र लुकेर बसेका पुराना भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्किएर सलबलाएकोप्रति सचेत रहन उनले आग्रह गरेका छन्।

‘भ्रष्ट नेताहरू अहिले फेरि बाहिर निस्केर सलबलाई रहेका छन्। ती शक्तिलाई बेलैमा चिन्नुपर्छ। विदेशी शक्तिको आडमा विद्रोह गरेका भनेका छन्। तर यो विद्रोह यहाँका युवाहरूले आवश्यकताका अनुसार गरेका हुन्’, उनले भने, ‘भ्रष्ट नेताहरूको अकुत सम्पत्ति छ, त्यसलाई छानबिन गर्न शक्तिशाली लोकपाल आयोग गठन गर्नुपर्छ। उनीहरूका केही सम्पत्ति डढेको भनिएको छ, तर उनीहरूका सम्पूर्ण सम्पत्ति छानबिन नगरिईकन भ्रष्टाचार अन्त्य हुन सक्दैन।’

त्यस्तै भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताए।

‘म कुनै आन्दोलनबाट अलग भएको छैन। नयाँ वैकल्पिक शक्तिको अभियानमा हिजो पनि थिएँ, आजपनि छु, भोलि पनि रहन्छु। हाम्रा नाति पुस्ता आइसके उनीहरूलाई प्रोत्साहन गर्नुपर्छ भनेर मैले नैतिकताका आधारमा पद त्याग गरेको हुँ। नयाँ शक्ति अभियानबाट अलग भएको छैन। यसमा विल्कुल भ्रम नरहोस्’, उनले भने।