images
images
images

नारायणकाजीले भने– प्रचण्डले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुने बताएका छन् ।

प्रज्ञा भवनमा जारी केन्द्रीय समिति बैठकमा बिहीबार आफ्नो धारणा राख्दै उनले तत्कालका लागि दोस्रो पुस्ताको नेतामध्ये कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिई प्रक्रिया सुरु गर्न सकिने बताए ।

उनले भने, ’अध्यक्ष कमरेडले कार्यकारी नेतृत्वबाट बिदा लिनु उपयुक्त हुन्छ ।’ श्रेष्ठले प्रचण्डको योगदान र ऐतिहासिक भूमिकालाई उच्च सम्मान गर्दै उनलाई वैचारिक–निर्देशनात्मक र अभिभावकीय भूमिकामा स्थापित गरिनुपर्ने बताए ।

यस्तो कदमले पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने, जनतामा सकारात्मक प्रभाव पार्ने र नेपाली राजनीतिमा प्रचण्डको ऐतिहासिक नेतृत्वलाई दीर्घकालीन रूपमा स्थापित गर्ने उनको तर्क थियो ।

यसैगरी उनले जेनजी आन्दोलनले देखाएको सन्देश र जनअपेक्षालाई सम्बोधन गर्न पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिन अपरिहार्य भएको बताए ।

श्रेष्ठले हालैको जेनजी आन्दोलनलाई आन्तरिक भ्रष्टाचार, नातावाद, बेरोजगारी, कुशासन लगायत कारणले उत्पन्न भएको भन्दै यो आन्दोलनले सकारात्मक सन्देश दिए पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि खतरा पनि निम्त्याएको टिप्पणी गरे ।

उनले आन्दोलनको मुद्दा भ्रष्टाचारविरुद्ध सङ्घर्ष, सुशासन र दलहरूको शुद्धीकरणलाई पार्टीले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रका कमजोरीबारे बोल्दै उनले ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरे पनि सामाजिक–आर्थिक रूपान्तरणमा असफल भएको, वैचारिक–सांस्कृतिक स्खलन भएको र केही गलत निर्णयहरूले पार्टीलाई कमजोर बनाएको बताए। उनले एमसीसी अनुमोदनदेखि सरकार बनाउने समीकरण, गृहमन्त्री चयन र प्रतिपक्षीसँगको सम्झौतामा गल्ती भएको पनि स्वीकार गरे ।

श्रेष्ठले यथास्थितिवादलाई त्यागेर रूपान्तरणकारी धारमा अघि बढ्नुपर्ने उल्लेख गर्दै पार्टीभित्रै सांस्कृतिक क्रान्ति सरहको वैचारिक–सांस्कृतिक महाअभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

महाधिवेशनबारे बोल्दै उनले आसन्न निर्वाचनभन्दा अघि महाधिवेशन गर्न उपयुक्त नहुने बताए । सार्थक महाधिवेशनका लागि वैचारिक दस्ताबेजमाथि व्यापक छलफल र तल्लो तहको प्रक्रिया पूरा गर्नुपर्ने भएकाले निर्वाचनपछि जतिसक्दो चाँडो महाधिवेशन गर्नुपर्ने सुझाव दिए ।