काठमाडौँ – सरकारले जेन–जी आन्दोलनका क्रममा आगजनीमा परेका नेताका घरमा भेटिएको नगद रकमबारे छानबिन सुरु गरेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उक्त जानकारी दिएकी हुन्। गत भदौ २३–२४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका शीर्ष नेताहरुको घरमा नगद रकम जलेको भेटिएको थियो।
प्रधानमन्त्री कार्कीले विगतका भ्रष्टाचार प्रकरणहरूबारे सरकार जानकार रहेको उल्लेख गर्दै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही अघि बढाइने स्पष्ट पारिन्।
उनले भनिन्, ‘वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका बारेमा छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ। तसर्थ यसको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाउनेछ। प्रदर्शनको क्रममा व्यक्तिका निजी घर तोडफोड र आगजनी हुँदा स्वभाविक रुपमा देखिएको नगद रकमका सम्बन्धमा सरकारका सम्बद्ध निकायहरुले छानबिनको प्रक्रिया सुरु गरिसकेको छ।’










