काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका सबै अनुसन्धानका काम तत्काल अघि बढ्ने बताएका छन्।
शुक्रवार अपरान्ह नक्शालस्थित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको अनुगमनपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले सुशासन प्रवद्र्धनका लागि पहिलो शर्तको रुपमा सो कामलाई अघि बढाउने बताए।
मन्त्री अर्यालले विगतमा राजनीतिक कनेक्सनका आधारमा भ्रष्टाचार बढेको उल्लेख गर्दै त्यसलाई तोडेर सरकार अघि बढ्ने पनि दोहोर्याए।
त्यस अवसरमा उनले आफूले प्रचलित कानून बमोजिम कुनै पनि अनुसन्धानको कामलाई अघि बढाउन मातहतका सबै निकायलाई सचेत गराइएको पनि बताए।
सरकारले सुशासनलाई कायम गरेर मुलुकमा तोकिएको मितिमा नै निर्वाचन गराउने योजनाका साथ काम गरिरहेको गृहमन्त्री अर्यालको भनाइ थियो।










