images
images
images

संविधानभित्रबाटै समस्याको समाधान खोज्न देउवाको आग्रह

शेरबहादुर देउवा । फाइल तस्बिर ।

 

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विषम परिस्थितिमा दुर्गाभवानीले सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

बडादसैँ, २०८२ को उपलक्ष्यमा सोमबार (असोेज १३) शुभकामना सन्देश जारी गर्दै उनले संविधान मुलुकको सर्वोच्च कानुन भएको उल्लेख गरेका छन् । संविधानभित्रबाटै वर्तमान समस्याको समाधान खोज्न उनले आग्रह समेत गरेका छन् ।

सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा निहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति–व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउंदै आएको छ ।”

उनले गएको भदौ २३ र २४ गते  ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा युवा र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अमूल्य जीवन गुमाएको दुःखद क्षणमा ती वीर सपुतप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनीहरूका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सभापति देउवाले भदौ २४ गतेको प्रदर्शनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न आपाराधिक समूहद्वारा राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालयलगायत अरू सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान, राजनीतिक दलका नेताहरूका निजी घर—डेरा र सर्वसाधारण व्यक्तिका सम्पत्तिसँगै सबै निजी तथा सार्वजनिक संरचनामा तोडफोड, आगजनी र लुटपाटबाट खबौँको क्षति भएको र यो नेपालको इतिहासमा अत्यन्त अल्कपनीय र दुःखद घटना भएको सन्देशमा उल्लेख गरेका छन् ।

कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनुपर्ने सभापति देउवाले सन्देशमा स्पष्ट पारेका छन् । उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान, इच्छा र आकांक्षाबमोजिम निर्वाचित जनप्रतिनिधिमार्फत बनेको यो ऐतिहासिक संविधानबाटै मुलुकका सबै जटिलताको समाधान, स्थिरता र प्रगति सुनिश्चित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ, “नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ । यो विषम परिस्थितिमा दुर्गाभवानीले हामी सबैलाई आत्मबल र दृढशक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

उनले दसैँ अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने पर्व भएकाले नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रूपमा मनाउँदै आएको बताएका छन् ।

उनले बडादसँै, २०८२ का अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।