images
images
images

सरकारलाई प्रतिशोधपूर्ण व्यवहार नगर्न युवा संघको चेतावनी

काठमाडौँ -नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित केही नेताको राहदानी रोक्का गर्ने सरकारी निर्णयलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै आपत्ति जनाएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेले मंगलबार एक विज्ञप्ति जारी गर्दै सरकार निष्पक्षता र कानुनी प्रक्रियाको मर्यादा विपरीत अगाडि बढेको आरोप लगाएका छन्।

‘गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले विना कुनै आधार र प्रमाण, प्रारम्भिक चरणमै शंका र पूर्वाग्रहका आधारमा राहदानी रोक्काको निर्णय गरेको छ। यस्तो कार्य निष्पक्ष छानबिन प्रक्रियालाई नै चुनौती दिने प्रकारको हो,’ विज्ञप्तिमा उल्लेख छ।

पूर्वप्रधानमन्त्री ओलीको देशप्रति समर्पण र योगदान उच्च रहेको भन्दै संघले सरकारको निर्णयलाई अराजनीतिक र प्रतिशोध साँध्ने प्रयासको रूपमा व्याख्या गरेको छ।

‘पूर्वप्रधानमन्त्री ओलीले आफ्नो जीवन नेपाली जनताका लागि समर्पण गर्नु भएको छ। आफ्नो सम्पूर्ण सम्पत्ति राज्यलाई सुम्पिसक्नुभएका र मुलुक छाडेर नजाने घोषणा गर्नुभएका नेताको राहदानी रोक्का गर्नु दुर्भाग्यपूर्ण र निन्दनीय हो,’ विज्ञप्तिमा भनिएको छ।

युवा संघले ओलीसँगै नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा संघका पूर्व इन्चार्ज महेश बस्नेतमाथि हुन लागेको अनुसन्धानलाई समेत प्रतिशोधपूर्ण रहेको दाबी गरेको छ ।

त्यस्तै, संघले गृह मन्त्रालयले भदौ २४ गतेको विध्वंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही नचलाउने भनिएको निर्णयलाई पनि दुःखद र निन्दनीय बताएको छ