काठमाडौं :-नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै चुनाव हुनुपर्ने बताएका छन्। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले सबै राजनीतिक दलहरू पनि चुनावमा सहभागी हुनुपर्ने बताए।
‘घोषित मितिमा निर्वाचन हुनुपर्छ। त्यसका लागि सक्रियताका साथ हामी लागिपरेका छौं। सबै राजनीतिक दल पनि निर्वाचनमा सहभागी हुनुपर्छ,’ उनले भने।
उनले निर्वाचनमा सहभागी गराउनका लागि आफूले राजनीतिक दलसँग छलफल गरिरहेको दाबी गरे। ‘निर्वाचनको वातावरण बनाउन अन्य राजनीतिक दलसँग छलफल भइरहेको छ। केही समयपछि त्यसको परिणाम देख्नुहुन्छ,’ उनले भने।
त्यस्तै बैठकले बाढी पहिरोले पुर्याएको क्षति र सरकारले तत्काल राहत वितरण गर्नुपर्ने लगायतका विषयमा छलफल गरेको प्रवक्ता अग्नि सापकोटाले बताए। त्यस्तै विचार मिल्ने दलहरूसँग एकता प्रक्रिया पनि अगाडि बढाइने उनले बताए।










