काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले यही असोज १७, १८ र १९ गते परेको अविरल वर्षा, बाढी, पहिरो, डुबान तथा चट्याङका कारण व्यापक जनधनको क्षति भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ । आज रास्वपाका प्रवक्ता मनिष झाले विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेका छन् । रास्वपाले दिवंगत आत्माहरूको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
यस वर्षको दशैं पर्वकै बीचमा आएको यो विपद्को बेला राज्य संयन्त्र, सुरक्षाबल, नागरिक समाज, स्वास्थ्यकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय सरकारहरूले देखाएको तत्परता र समर्पण उल्लेखनीय रहेको रास्वपाको मूल्यांकन छ ।
विज्ञप्तीमा भनिएको छ,‘प्रारम्भिक चेतावनी प्रणाली सक्रिय पारिनु, उद्धार टोलीहरूको समयमै परिचालन, हवाई र स्थल उद्धारको प्रभावकारी संयोजन, जनकेन्द्रित निर्णय, प्रशासनको पारदर्शी भूमिका र नागरिक सहकार्यले उत्तरदायी शासनप्रतिको जनविश्वास बढाएको छ। सरकारको नेतृत्व जब गम्भीर, इमानदार र जनउत्तरदायी हुन्छ, तब जनताले “सरकार छ” भन्ने आत्मविश्वास अनुभव गर्छन्। पार्टीको ठम्याइमा, बलियो सरकार धेरै सांसद संख्याले होइन, बलियो सार्वजनिक सेवा र उत्तरदायी संयन्त्रले बनाउँछ।’













