images
images
images

तीन पूर्वमन्त्री र पूर्वसचिव जोडिएको ‘घूस डिल’ काण्डको अनुसन्धान अन्तिम चरणमा

काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन पूर्वमन्त्री र एक सचिव जोडिएको ‘घूस डिल’ काण्डको अनुसन्धान अन्तिम चरणमा पुऱ्याएको छ। अख्तियार स्रोतका सम्भव भएसम्म तिहार अघि नै विशेष अदालतमा मुद्दा दायर गर्ने गरी अनुसन्धान तीव्रता दिइएको हो।

पोखराको लिचिबारीको जग्गा हडप्न बिचौलियासँग घूस डिल गरेको अडिओको विषयमा अख्तियारले तत्कालीन संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, पूर्व भूमि व्यवस्था सचिव अर्जुनप्रसाद पोखरेल, बिचौलिया सुजन लामालगायतसँग बयान लिइसकेको छ। उक्त अडिओमा तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको नाम समेत मुछिएको थियो। उक्त विषयमा अख्तियारले विस्तृत अनुसन्धान गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको हो।

पोखराको लिचिबारी बगैंचाको जग्गा हडप्न बिचौलिया सुजन लामासँग घूस डिल गर्दै गरेको तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ता र पूर्व मन्त्री श्रेष्ठको आवाज सुनिन्छ। उक्त जग्गा हडप्नका लागि रामचन्द्र अधिकारीलाई कास्कीको प्रमुख मालपोत प्रमुखमा थमौती गर्नका लागि ५३ लाख रुपैयाँ घूस डिल भएको हो। उक्त अडिओमा भएको आवाज गुप्ता र श्रेष्ठ कै भएको अख्तियार स्रोतको दाबी छ। जिल्ला भूमि आयोगको सदस्य बनाउन पनि थप २५ लाख रुपैयाँ घूस लिएको तत्कालीन मन्त्री गुप्तामाथि आरोप छ।

उक्त जग्गा प्रकरणमा पूर्वसचिव पोखरेलमाथि पनि ५ लाख रुपैयाँ पैसा, ‘ग्लेनफिडिक’ रक्सी, वनकुखुरा र अरिंगाल खाएको आरोप छ। बिचौलियाले अख्तियारमा पोखरेललाई रानीबारीस्थित उनकै घरमै पुगेर पाँच लाख रुपैयाँ बुझाएको बयान दिएपछि उनको समेत बयान लिने काम सम्पन भइसकेको हो। अख्तियारले उक्त प्रकरणलाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको पाइन्छ।

पछिल्लो समय अख्तियारले आधा दर्जन मुद्दा दायर गर्ने तयारी गरिरहेको स्रोतले बतायो। घटस्थापनादेखि नै अदालत विदा भएकाले अख्तियार रोकिएको बताइन्छ। ठूल्ठूला भ्रष्टाचारका मुद्दामा दसैँ अघि नै अख्तियारले विस्तृत अनुसन्धान गरिरहेको थियो। ति मध्ये अहिले केही भ्रष्टाचारका मुद्दा विशेष अदालतमा लाने अख्तियारको तयारी रहेको बुझिन्छ।