काठमाडौँ -संघीय सरकारको निर्देशनपछि अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरिएको छ ।
धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिकाले अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता असोज २१ गते (मंगलवार) देखि लागू हुने गरी रद्द गरेको हो । गाउँपालिकाका अनुसार संघीय सरकारको निर्णय तथा सम्बन्धित परिपत्रको आधारमा यस्तो निर्णय गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको च.नं. ११३ र अर्थ मन्त्रालयको च.नं. ११८, असोज ७ को पत्रानुसार ‘नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने’ निर्देशन आएको थियो ।
उक्त निर्देशनका आधारमा गाउँपालिकाले आफ्नो कार्यालय अन्तर्गत दरबन्दी बाहेक अस्थायी नियुक्ति प्राप्त र करार सेवामा कार्यरत स्वास्थ्यकर्मी, शिक्षक तथा अन्य कर्मचारीहरूको अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि हिजोदेखि लागू हुने गरी नियुक्ति तथा करार सम्झौता रद्द गरेको जनाएको छ ।










