images
images
images

कांग्रेस पदाधिकारी बैठक कुपण्डोलको हिमालय होटलमा, देउवा नजाने

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो १ बजे ललितपुरस्थित कुपण्डोलको हिमालय होटलमा बस्दैछ। तर, पार्टी सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने भएका छन्।

सभापति देउवा अनुपस्थित रहने भएपछि बैठक उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुने भएको छ।

जेनजी आन्दोलनपछि देउवा कुनै पनि पार्टी बैठकमा प्रत्यक्ष रूपमा सहभागी भएका छैनन्। यद्यपि, पार्टीका केही नेताहरूसँग उनले भर्चुअल बैठक भने गरेका थिए।

गत भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन देउवा र उनकी पत्नी आरजु राणा बुढानीलकण्ठस्थित निवासमै आक्रमणमा परेका थिए।

आगजनीका कारण उनीहरूको निवास क्षतिग्रस्त भएपछि हाल देउवा परिवार ललितपुरमा बसोबास गर्दै आएको छ। तर, उनीहरू बसिरहेको स्थान सार्वजनिक गरिएको छैन।

आजको बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डाहरूको तयारी तथा छलफल मुख्य विषय रहने बताइएको छ।