काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको परिस्थिति असाधारण र असामान्य रहेको टिप्पणी गरेका छन् । उनले अहिलेको सरकार संविधानअनुसार नबनेको र बलमिच्याईंले बनेको बताए । आज (बिहीबार) एमालेको भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
संसद् भंगको शर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बनेको उनको दाबी छ । उनले सुशीला कार्कीलाई नेपालको संविधान राम्रोसँग थाहा रहेको र संविधानको व्याख्या गरेर आएको व्यक्ति भएको सुनाए । उनले भने,‘उहाँले के के व्याख्या गर्नुभयो, त्यो छोड्दिउँ । नेपालको संविधानले स्पष्ट रुपमा भन्छ सर्वोच्च अदालतको न्यायाधीश भैसकेको व्यक्ति, पूर्व प्रधानन्याधीश कुनैपनि सरकारी लाभको पदमा बस्नै सक्दैन । उहाँलाई राम्ररी थाहा छ । तर उहाँ भदौ २३ गते सडकमा उत्रिनुभयो, उहाँ के कामको लागि उत्रिनुभयो ? चुनाव त राष्ट्रपतिले चुनाव गराउ भनेर तोकिदिएको हो ।’
अहिले राति राति केपी ओलीलाई कसरी गिर्फतारी गर्न सकिन्छ भनेर मिटिङ गरिरहेको पनि उनले बताए । सुशीला कार्कीहरुले सुरुमा आफूलगायत केही मान्छेको पासपोर्ट रोक्का भनेर सडक तमाशा गरेको बताएका छन् । उनले सुशीला कार्कीको सरकार हा–हुबाट बनेको कुरा आजपनि दोहोर्याए ।
उनले भने,‘मैले अस्ति यो सरकार जसरी बन्यो, यो हा हु बाट बनेको हो, यसको अलिक व्याख्या गरेको छैन, समयमा गरौंला । यो कसैको प्रतिनिधि होईन, नेपालीको चाहीँ होईन । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ ।’ काठमाडौं उपत्यका छोड्न नपाउने भनेरपनि यो सरकारले तमाशा गरेको भन्दै सुशीला कार्कीको डरले केपी ओली गुटुटु नभाग्ने चूनौति दिए ।
उनले भने,‘सुशीला कार्कीको डरले केपी भाग्छ गुटुटु ? के सोच्या छ ? तपाईंहरुले कतिले नाम सुन्नुभएको थियो, अहिलेको गृहमन्त्री ? मैले त नाम पनि सुनेको थिइनँ । गृहमन्त्री भएपछि थाहा भएको हो । उनको सम्बन्धमा मलाई धेरै केही भन्नु छैन । गृहमन्त्रीबाबुलाई धेरै नउत्ताउलिन र नचम्किन र सम्हालिन सल्लाह दिन चाहन्छु । देश चलाउने कुरा ख्याल ठट्टाको कुरा होईन ।’ देशको रक्षा र स्वाभिमान तलमाथि हुन नदिनको लागि आफूहरु जुनसुकै बलिदान दिन तयार रहेको भन्दै नझिस्काउन पनि ओलीले चेतावनी दिए ।










