images
images
images

‘केपी ओली र रमेश लेखकलाई गिरफ्तार गर्न ३ बजे रातिसम्म मिटिङ’

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्न वर्तमान सरकारले ३ बजे रातिसम्म मिटिङ गरेको खुलासा गरेका छन् । एमालेले आज गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘अहिले रातभरी ३ बजे रातिसम्म मिटिङ गरेर कसरी केपी ओलीलाई गिरफ्तार गर्न सकिन्छ, कसरी नेपाली कांग्रेसका रमेश लेखकलाई गिरफ्तार गर्न सकिन्छ ?’

साथै, वर्तमान सरकारले आफूसहित केही मानिसहरुको पासपोर्ट रोक्का राख्ने निर्णय गरेर र काठमाडौं उपत्यका छोड्न नपाउने भनेर तमासा गरेको उनले बताए । पूर्व प्रधानमन्त्री ओलीले गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै धेरै नउत्ताउलिन, नचम्किन र सम्हालिन सल्लाह दिए ।

‘सबैभन्दा पहिला उहाँहरुले एउटा तमासा देखाउनुभयो– सडक तमासा । त्यो सडक तमासा के हो भने केपी ओलीलगायत केही मान्छेहरुको राहदानी रोक्का । मैले अस्ती पनि भनेँ– यो सरकार जसरी बन्यो, मैले संक्षिप्तमा मात्रै भनेको छु– हा हु बाट बनेको सरकार हो । त्यसको अलि व्याख्या गरेको छैन, समयमा गरौंला । यो कसैको प्रतिनिधि होइन, नेपालीको चाहिँ होइन । अन्त कतैको भए थाहा छैन । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । अर्को तमासा के गर्नुभयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर पर्तिर जान नपाइने । यो तमासा नभए के हो ? यो तमासाबाट उहाँहरुले सुरु गर्नुभयो । सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु ? के सोचेको ? तपाईँहरु कतिले नाम सुन्नुभएको थियो अहिलेको गृहमन्त्री ? मैले त नाम पनि सुनेको थिइनँ । गृहमन्त्री भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई धेरै नउत्ताउलिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु,’– ओलीले भने ।