काठमाडौं – इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै हमासद्वारा मुक्त गरिने भनिएका २० जना युद्धबन्दीको सूची सार्वजनिक भए पनि नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश नहुँदा उनको अवस्थाबारे अन्योल थपिएको छ ।
अमेरिकी पहलमा भएको युद्धविरामपश्चात् हमासको कब्जामा रहेका ५० जनालाई रिहा गर्ने सहमति भएको थियो, जसमध्ये पहिलो चरणमा २० जनालाई सोमबारभित्रै छाड्ने बताइएको छ । तर, यस सूचीमा सबै इजरायली नागरिक रहेका र विपिन जोशीको नाम नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले पुष्टि गरेका छन् ।
गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाइएको थियो । सोही आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । त्यसयता विपिनको अवस्था अज्ञात नै छ । सन् २०२३ नोभेम्बर १७ मा उनी गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएको खबर आए पनि त्यसपछि उनको कुनै ठोस जानकारी सार्वजनिक भएको छैन । हालै सार्वजनिक भएको ३३ सेकेन्डको भिडियो पनि पुरानो भएको राजदूत पण्डितले बताएका छन् ।
राजदूत पण्डितले विपिनको अवस्था पत्ता लगाउन इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले भने, ‘अहिलेसम्म विपिनको जीवनको बारेमा केही जानकारी छैन । उनको जेजस्तो अवस्था छ, त्यो चाँडै जानकारी हुनेछ भन्ने आशामा छौं ।’
परराष्ट्र मन्त्रालयका कर्मचारीहरू पनि विपिनको खोजीमा लागेको बताएका छन्, तर कुनै सफलता मिलेको छैन । मन्त्रालय स्रोतका अनुसार, इजरायल सरकारको तर्फबाट विपिनको ‘जुनसुकै अवस्था’ को सूचना आउन सक्ने भन्दै परिवारलाई मानसिक रूपमा तयार रहन खबर आएको छ, जसले परिवारमा थप चिन्ता बढाएको छ ।










