images
images
images

देशमा ठूलो संकट आएको भन्दै प्रचण्डले गरे सर्वपक्षीय राष्ट्रिय सहमतिको अपिल

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अध्यक्षबाट हटेपछि पहिलोपटक पत्रकारहरूसँग भेट्दै भूराजनीतिक चलखेलका कारणकै कारण देश दुर्घटनाबाट जोगिएको दाबी गरेका छन्।

उनले आफू बचेकामा पनि आश्चर्य व्यक्त गर्दै कसैले हातमा किचिपिची पारिदिन सक्ने निरीह अवस्थामा रहेको तर भूराजनीतिक चलखेलका कारण नै बचेको पनि बताए। शुक्रबार सम्पादकहरूसँग अन्तर्क्रियाका क्रममा प्रचण्डले आफ्नो निरीहता प्रकट गर्दै आफूले अध्यक्षमा रहिरहन नचाहेको पनि बताएका थिए।

उनले देश इतिहासकै सबैभन्दा संकटको घडीबाट गुज्रिरहेको उल्लेख गर्दै यस क्षणमा राजनीतिक दलसहित सबै पक्षसँग राष्ट्रिय सहमतिको अपिल पनि गरे। ‘राष्ट्रिय राजनीतिक सम्मेलन’ आयोजना गरेर सबै पक्ष मिलेर संकटबाट बाहिरिने सहमति गर्नुपर्ने उनले बताएका छन्।

अन्तर्क्रियाका क्रममा उनले पटकपटक सर्वपक्षीय राष्ट्रिय सहमतिको आवश्यकता औँल्याउँदै उक्त छलफलमा राजनीतिक दलसहित सबै पक्षहरू सहभागी हुनुपर्ने बताएका थिए। ‘चुनाव गर्न, संविधानमा संशोधन गर्न र आगामी मार्गको सहमति गर्न’ सर्वपक्षीय सम्मेलन र सहमतिको अपिल प्रचण्डले गरेका थिए।

उनले जेनजीको आन्दोलनप्रति अनुग्रह व्यक्त गर्दै देशमा भूराजनीतिक चलखेल भइरहेको र जुनसुकै अवस्थामा पुग्नसक्ने खतरा पनि औँल्याएका थिए।

भदौ २३ र २४ गतेको घटनापछि आफू सेनाकै आश्रयमा रहेको र प्रधान सेनापति तथा राष्ट्पतिसँग निरन्तर भेटघाटमा रहेको जानकारी उनले दिए। सिंहदरबारमा प्रतिपक्षी दलको बैठक सकेर बसिरहेका बेला प्रधान सेनापति अशोकराज सिग्देललाई फोन गरेर सेनिक मुख्यालयमा गएर आश्रय लिएको प्रचण्डले बताए।

‘मैले ठूलो भूमिका खेलेँ भन्ने दाबी म गर्दिनँ। सेनाकै मुख्यालयमा रहेका कारण प्रधानसेनापति र राष्ट्रपतिसँग नियमित भेट भइरहन्थ्यो। भइरहेका घटनाक्रमबाट जानकार थिएँ। मैले ठूलो भूमिका खेलेर जोगाएँ भन्नु आगो लागेका बेला एउटा चरोले मेरो चुच्चोले पानी हालेर निभाएँभन्नुजस्तै हो,’ उनले भने। तर, घटनाक्रमको साक्षी बनेको उल्लेख गर्दै उनले भने- ‘देश अहिले इतिहासकै सबैभन्दा ठूलो संकटबाट गुज्रिरहेको छ।’

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको लिखित सहमतिमा नै सुशीला कार्की प्रधानमन्त्री बनेको उल्लेख गर्दै ओलीले अहिलेको सरकारलाई हाहुको सरकार भनेका आश्चर्य पनि प्रकट गरे।

‘आफ्नो मनोगत अहंकारको आत्मरित गर्ने प्रवृत्ति अझै देखिनु दुर्भाग्यपूर्ण’ रहेको भन्दै उनले पूर्वप्रधानमन्त्री ओलीप्रति कटाक्ष पनि गरे।

उनले आफ्नो दलले आत्मसमीक्षा गर्दै गरेको उल्लेख गर्दै अन्य दलहरू खासगरी कांग्रेस र एमाले नेतृत्वलाई पनि आत्मसमीक्षाका लागि आग्रह गरेका थिए।