काठमाडौं – नेकपा (एमाले)को ५८ औं सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेकी छिन् । शाक्यले यसअघि ओलीलाई साथ दिदै आएकी थिइन् ।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका थिए। ज्ञवाली र पाण्डे यसअघि नै ओलीको विपक्षमा खुलेका थिए ।
युवाहरुको आन्दोलन, विद्रोहको भावनालाई आत्मसात् पार्टी अध्यक्षले राजीनामा दिनुपर्ने विचार शाक्यले राखेको एक पदाधिकारीले बताए । उपाध्यक्ष शाक्यको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘पार्टी अध्यक्षले राजीनामा दिनुपर्छ।’
शाक्यले पोलिटव्यूरो सदस्य महेश बस्नेतले सार्वजनिक रुपमा बोलिरहेको कुराले पार्टीलाई फाइदा नहुने बताइन् । ‘किन यसरी बोल्न दिइदैछ ?,’ शाक्यको प्रश्न थियो, ‘यस्तो कुराले पार्टीलाई फाइदा पुगिरहेको छैन, ध्यान दिनुपर्नेछ ।’
उपाध्यक्ष शाक्यले आफ्नो बोल्ने पालोमा राखेको कुरालाई ओलीले तुरुन्तै जवाफ फर्काएका थिए । ‘अप्ठ्यारो पर्दा, संकट पर्दा अरु नबोल्ने रहेछन्,’ महेशको बचाउ गर्दै ओलीले भने, ‘पार्टीभित्रै उनै एउटा बहादुर रहेछन् । उही बोल्छ्, उसैले काम गर्छ ।’
शाक्यले २३ र २४ को घटनालाई षडयन्त्र भनेर मात्र नहुने जिकिर गरिन् । ‘भोलिपल्ट सरकार जाँदैछ भन्ने पत्तो भएन । अनि षडयन्त्र भनेर मात्र हुँदैन,’ शाक्यले ओलीलाई भनिन्, ‘नैतिक जिम्मेवारी लिएर तपाईले सहज निकास दिनुस् । अरुलाई अगाडि बढाउनुपर्छ ।’
उपाध्यक्ष विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’को धारणा पनि पार्टी आन्दोलनको पुनर्गठन अपरिहार्य रहेको बताएका एक पदाधिकारीले बताए ।










