images
images
images

ओलीले ‘हा हु’को सरकार भन्दा आश्चर्य चकित भएँ : प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन केपी शर्मा ओलीले लिखित रुपमै सहमति दिएको बताएका छन्।

शुक्रबार सम्पादकहरूसँगको अन्तर्क्रियामा उनले जेन–जी आन्दोलनपछि सेनाको सुरक्षामा रहेका ओलीले लिखित सहमति दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको बताएका हुन्।

कार्कीलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेका ओलीले अहिले आएर ‘हा हुको सरकार’ भनेर टप्पणी गर्दा आफू आश्चर्य चकित भएको दाहालले बताए।

ओलीले बिहीबार आयोजित पार्टीको एक कार्यक्रममा भनेका थिए, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ, यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ?’

सरकारले भदौ २३ गते भएको जेन–जी आन्दोलनमा बर्बर दमन गर्दा एकैदिन १९ जनाको मृत्यु भएपछि भदौ २४ गते देशभर आन्दोलन चर्किएको थियो।

त्यसक्रममा संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायत देशभर आगजनी र तोडफोड भएपछि ओलीले राजीनामा दिएका थिए। राजीनामापछि उनलाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको थियो।

प्रचण्डका अनुसार सेनाको सुरक्षामा मकवानपुरको चनबनमा रहेका ओलीलाई भदौ २६ गते हेलिकप्टरमा भैरवनाथ गण ल्याइएको थियो। ओलीले भदौ २६ गते राति कार्कीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति पौडेललाई लिखित सहमति दिएको प्रचण्डको दाबी छ।