images
images
images

माओवादीसँग एकताको विपक्षमा उभिए झलनाथ

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बीच एकताको चर्चा तीव्र बन्दै गएको बेला समाजवादीका सम्मानित नेता झलनाथ खनालले सम्भावित एकीकरणको विरोध गरेका छन्।

दिल्लीमा उपचाररत खनालले आइतबार सार्वजनिक गरेको वक्तव्यमार्फत पार्टी एकताको चर्चा “कुबेलाका बाजा” भएको टिप्पणी गरेका हुन्।

उनले यस्तो प्रयासलाई “भड्खालोमा जाने बाटो” भन्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउन आह्वान गरेका छन्।  खनालले भनेका छन्  “यतिबेला हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने मौसम होइन र छैन। हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने दिशामा नलागौँ।”

उनले हालको प्राथमिकता पार्टीभित्र आत्मसमीक्षा, रुपान्तरण र प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुट्नु पर्ने बताएका छन्। खनालले जारी वक्तव्यमा पार्टीले चार वर्षअघिको राजनीतिक यात्राको निर्मम समीक्षा गर्नुपर्ने बताउँदै भनेका छन् “नवौं महाधिवेशनदेखि उठाएको युवा आवाज र कार्यविधिलाई ध्यान दिऔँ। सबै क्रान्तिकारी, वामपन्थी, देशभक्त र प्रगतिशील शक्तिलाई गोलबन्द गरी एउटा बृहत् राष्ट्रिय मोर्चा निर्माण गरौँ।”

उनका अनुसार अहिलेको सही बाटो भनेको पार्टीलाई एकताबद्ध बनाएर पुनर्गठन र रुपान्तरणको ऐतिहासिक यात्रातर्फ अघि बढ्नु हो। खनालको यस्तो अभिव्यक्ति उस समयमा आएको हो, जब नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकीकरणका लागि छलफल तीव्र बनेको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार खनालको यो वक्तव्यले सम्भावित एकता प्रक्रियामा नयाँ राजनीतिक तरंग सिर्जना गरेको छ।